दफा १०
बीमकको दर्ता
(१) यस ऐन बमोजिम प्रमाणपत्र नलिई कसैले पनि विमा व्यवसाय गर्नु गराउनु हुँदैन ।
(२) विमा व्यवसाय गर्न चाहने स्वदेशी तथा विदेशी संगठित संस्थाले समितिको कार्यालयमा बीमकको रुपमा आफ्नो नाम दर्ता गर्न तोकिएको ढांचामा देहायका कागजात संलग्न राखी तोकिएको दस्तूर सहित निवेदन दिनु पर्नेछ ।
(क) आफ्नो संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावली,
(ख) आपूले गर्न लागेको विमा व्यवसाय, त्यसका नीति र शर्तहरु,
(ग) जीवन विमा व्यवसाय गर्ने भए सो व्यवसाय गर्दा लिइने रकम र दायित्वको हिसाब देखाइएको लिखत,
(घ) विमा बापत प्राप्त हुन आएको रकम उपभोग गर्ने तरिका बारेको लिखत, र
(ङ) समितिले तोकिदिएका अन्य आवश्यक कागजातहरु ।
(३) उपदफा (२) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निवेदकसंग कुनै कुरा बुझ्नु पर्ने भए सो कुरा समेत बुझी निवेदकको नाउँ तोकिएको दर्ता किताबमा दर्ता गरी निवेदकले गर्न पाउने विमा व्यवसायका किसिम समेत उल्लेख गरी निवेदकलाई तोकिए बमोजिमको ढाँचामा बीमकको प्रमाणपत्र दिनु पर्नेछ र दर्ता गर्न नहुने मनासिब कारण भएमा त्यसको जानकारी समितिले सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए भए तापनि जीवन विमाको हकमा समितिले समय–समयमा विमा व्यवसाय संचालन गर्ने सम्बन्धमा निर्धारण गरेका मापदण्डहरु पुरा गरेको आधारमा नेपाल सरकारको स्वीकृति लिएर व्यवसाय संचालन गर्नको लागि प्रमाणपत्र दिनेछ ।